Facebook
Twitter
Youtube
logo
पोखरा प्रिमियर लिग : सन्दीप विराटनगर र पारस चितवनका ‘मार्की’

पोखरा प्रिमियर लिग (पीपीएल) मा प्रतिस्पर्धा गर्ने फ्रेन्चाइज टोली, त्यसका मालिक र मार्की खेलाडी घोषणा गरिएको छ । क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले कात्तिक ९ देखि २० सम्म पोखरामा नेपालको तेस्रो प्रिमियर लिग क्रिकेटको रूपमा पीपीएल आयोजना गर्दै छ ।

फ्रेन्चाइजमा नेपालमा भएका धनगढी प्रिमियर लिग र एभरेस्ट प्रिमियर लिग यसअघिका ठूला प्रतियोगिता हुन् ।

पीपीएलमा विराटनगर टाइटन्स, चितवन राइनोज, हुलास काठमाडौं रोयल्स, पोखरा पल्टन, बुटवल ब्लास्टर्स र एक्सपर्ट धनगढी ब्लुजले प्रतिस्पर्धा गर्नेछन् । विराटनगरको स्वामित्व ग्रहण महालक्ष्मी वायर एन्ड केबल र बाबा भेजिटेबल आयल इन्डस्ट्रिज प्रालिले गरेका छन् । टोलीको मालिकमा पूर्व राष्ट्रिय खेलाडी पारस लुनिया र नारायण मुन्द्रा तथा मार्की खेलाडीमा सन्दीप लामिछाने छन् ।

लुनिया धनगढी प्रिमियर लिगको टोली विराटनगर किंग्सका पनि मालिक हुन् । ‘जुन हिसाबमा यो प्रतियोगिता हुन गइरहेको छ त्यसले क्रिकेटलाई प्रवद्र्धन गर्नुका साथै नयाँ खेलाडी निकाल्न पनि सहयोग गर्छ भन्ने अपेक्षा लिएको छु,’ विराटनगर टाइटन्सका मालिक लुनियाले भने, ‘नेपाली क्रिकेट माथि उठोस् भनेर आफूहरू यहाँ आएको र एउटा पूर्व खेलाडीको हैसियतमा नेपाल टेस्ट खेल्ने राष्ट्र बनेको देख्न चाहेको छु ।’

युवा व्यावसायी रेशम महरा र १० जना गैरआवासीय नेपालीको लगानीमा चितवन टोली बनाइएको छ । राष्ट्रिय टोलीका कप्तान पारस खड्कालाई टोलीले मार्की खेलाडीमा लिएको छ । पारसलाई समावेश गर्न पाउँदा आफूहरू ज्यादै उत्साही भएको महराले बताए । पारसले ६ नयाँ फ्रेन्चाइज आउनुलाई नेपाली क्रिकेटमा लगानी भित्रिनु भएको जनाउँदै पीपीएल नेपाली क्रिकेटका लागि अर्को प्लेटफर्म रहेको बताए ।

काठमाडौं रोयल्सको टिम स्वामित्व राज्यलक्ष्मी गोल्छाले लिएकी छन् । टिम तथा मार्की खेलाडी बिहीबार सार्वजनिक गर्दा उनी कार्यक्रममा उपस्थित थिइनन् । उनको प्रतिनिधित्व गर्दै आएका हुलासका आर्थिक कार्यकारी आशुतोषकुमार यादवले पहिलो पटक क्रिकेटमा यसरी आइरहेकाले आफूहरूमा उत्साह रहेको सुनाए । टोलीको मार्की खेलाडीमा राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल छन् । ज्ञानेन्द्रले विकासको रूपमा हेर्ने हो भने पोखरामा क्रिकेटको ठूलो महत्त्व रहेको जनाउँदै पोखरा क्रिकेट सुहाउँदो भूमि भएको दाबी गरे ।

पोखरा पल्टनको मालिकमा विनायक पोखरेल छन् । उनी यसअघि चतुरबहादुर चन्दको निर्वाचित कमिटीलाई भंग गर्दै राष्ट्रिय खेलकुद परिषद्ले बनाएको समानन्तर नेपाल क्रिकेट संघमा पदाधिकारी रहेका थिए । उनको टोलीमा शरद भेषावकर मार्की खेलाडी छन् । पीपीएलमा प्रतिस्पर्धा गर्न आफू निकै उत्साही रहेको जनाउँदै शरदले पोखरा घरेलु टोली भएकाले त्यसको प्रतिनिधित्व गर्न पाउनुमा आफूलाई भाग्यमानी सम्झिए । उनले प्रतियोगिताले नेपाली क्रिकेटमा कोसेढुंगा थप्ने विश्वास व्यक्त गरे ।

बुटवल ब्लास्टर्सको स्वामित्व रामबहादुर विष्टसहित युवा टिमले लिएको छ । टोलीको प्रतिनिधित्व गरेका अर्का मालिक नरेश गौतमले यसअघि आफू कबड्डी संघमा रहेको बताउँदै खेलकुदकै कारण आफू यतातिर तानिएको बताए । बुटवलको मार्की खेलाडीमा सोमपाल कामी छन् । धनगढी ब्लुजको स्वामित्व एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसले लिएको छ । टोली मालिकमा सन्जिव शर्मा छन् ।

टिमको प्रतिनिधित्व गरेका तोयानाथ अर्यालले नेपाली क्रिकेटले जुन नतिजा दिइरहेको छ त्यसले क्रिकेट जनताको सरोकार भएकाले आफूहरू यस क्षेत्रमा आएको बताए । धनगढीको मार्की खेलाडीमा दीपेन्द्रसिंह ऐरी छन् । उनले गृहनगरको प्रतिनिधित्व गर्न पाउँदा आफ्नो उत्साह बेग्लै रहेको सुनाए ।

क्विन्स इभेन्ट्सका प्रवन्ध निर्देशक छुम्बी लामाले पीपीएल देशकै ठूलो प्रतियोगिता हुने दाबी गर्दै यसले नेपाली क्रिकेटमा नयाँ आयाम थप्ने विश्वास लिए । उनले भने, ‘माछापुच्छ्रे हिमालको अगाडि क्रिकेट खेल्दा यसले अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाललाई तटस्थ भूमिका रूपमा अगाडि ल्याउन दबाब सिर्जना गर्न सक्छ । पीपीएलले पोखरालाई क्रिकेटको नयाँ गन्तव्यको रूपमा ल्याउने विश्वास लिएका छौं ।’

-कान्तिपुरबाट

Subscribe to Our Newsletter